• २०८३ आश्विन २० | Tue, 06 Oct 2026
  • Dark Mode

          Subscribe

    ‘हरे कृष्ण’ जप्दै विपद्का मृतकप्रति श्रद्धाञ्जली, इस्कोन बुटवलमा दीप प्रज्वलन

    • lumbinisanjal
    • २०८३ भाद्र १२, शुक्रबार २०:४६
    676
    SHARES
    ‘हरे कृष्ण’ जप्दै विपद्का मृतकप्रति श्रद्धाञ्जली, इस्कोन बुटवलमा दीप प्रज्वलन

    बुटवल । रसुवा, नुवाकोट, धादिङलगायत देशका विभिन्न जिल्लामा हालै आएको प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकहरूको आत्माको चिरशान्तिको कामना गर्दै बुटवलमा दीप प्रज्वलनसहित विशेष आध्यात्मिक प्रार्थना गरिएको छ।

    इस्कोन केन्द्र बुटवल (अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ) को आयोजनामा विपद्मा परी दिवंगत भएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको हो।
    दीप प्रज्वलन कार्यक्रममा इस्कोन रुपन्देहीका अध्यक्ष हेमाङ्ग विश्वम्भर दास, इस्कोन बुटवलकी भक्त साधिका सर्वरुपा देवी दासी, भक्त शादक भरतजंग कुँवर लगायत भक्तजनहरूको सहभागिता रहेको थियो।

    विपद्मा परेका परिवारप्रति आध्यात्मिक साथ, सहयोग र सकारात्मक ऊर्जा प्रदान गर्ने उद्देश्यले दीप प्रज्वलन गरिएको इस्कोन बुटवलका ब्रह्मचारी करन्धर दासले बताउनुभयो।
    उहाँका अनुसार दीप केवल उज्यालोको प्रतीक मात्र नभई दुःख र संकटको समयमा आशा, शक्ति तथा आध्यात्मिक ऊर्जाको प्रतीकसमेत हो। विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको शान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभका लागि भगवान् र अग्निदेवसँग प्रार्थना गरिएको उहाँले बताउनुभयो।
    कार्यक्रममा भक्तजनहरूले ‘हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे । हरे राम हरे राम, राम राम हरे हरे’ महामन्त्र जप गर्दै दीप प्रज्वलन गरेका थिए।

    ‘भगवान् पशुपतिनाथले सम्पूर्ण देशवासीको रक्षा गरून्’ लगायतका सन्देश लेखिएका प्लेकार्ड तथा पम्प्लेटसहित भक्तजनहरूले सामूहिक रूपमा प्रार्थना गरेका थिए।

    विपद्को पीडामा रहेका परिवारजनप्रति ऐक्यबद्धता जनाउँदै गरिएको दीप प्रज्वलनले मानवीय संवेदना, आध्यात्मिक शक्ति र प्रार्थनाको भावलाई एकसाथ प्रस्तुत गरेको थियो।



    lumbinisanjal   
  • २०८३ भाद्र १२, शुक्रबार २०:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP