• २०८३ श्रावण २९ | Fri, 14 Aug 2026
  • Dark Mode

          Subscribe

    अभिभावक–विद्यालय सहकार्य सुदृढ बनाउन अक्सफोर्डको चौथो अभिमुखीकरण सम्पन्न

    • lumbinisanjal
    • २०८३ असार २८, आईतवार २२:४८
    338
    SHARES
    अभिभावक–विद्यालय सहकार्य सुदृढ बनाउन अक्सफोर्डको चौथो अभिमुखीकरण सम्पन्न

    बुटवल । अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीका अभिभावकलाई लक्षित गर्दै आयोजना गरेको चौथो चरणको अभिभावक अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। किशोरावस्थामा रहेका विद्यार्थीहरूको शैक्षिक उपलब्धि, अनुशासन, मानसिक सुदृढता, नैतिक विकास तथा उज्ज्वल भविष्य निर्माणमा अभिभावकको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    विद्यालयका प्राचार्य दिनेश भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उनले कक्षा ८, ९ र १० विद्यार्थीको जीवनको अत्यन्त संवेदनशील र निर्णायक चरण भएकाले यस समयमा अभिभावकको समय, विश्वास, सही मार्गदर्शन र विद्यालयसँगको निरन्तर सहकार्यले उनीहरूको व्यक्तित्व तथा भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। विद्यालय र अभिभावक एउटै लक्ष्यका सहयात्री भएकाले निरन्तर संवाद, विश्वास र सहकार्यबाट मात्रै विद्यार्थीको सर्वाङ्गीण विकास सम्भव हुने उनको भनाइ थियो।

    कार्यक्रमका प्रशिक्षक प्रितम पौडेलले किशोर मनोविज्ञान, प्रभावकारी अभिभावकीय भूमिका, अध्ययनप्रतिको प्रेरणा, डिजिटल अनुशासन, बोर्ड परीक्षाको तयारी, समय व्यवस्थापन तथा सकारात्मक पारिवारिक वातावरणका विषयमा व्यवहारिक र प्रेरणादायी सहजीकरण गरेका थिए। उनले अभिभावकले आफ्ना छोराछोरीसँग नियमित संवाद गर्ने, उनीहरूको भावना बुझ्ने, आत्मविश्वास अभिवृद्धि गर्ने र घरमै सकारात्मक सिकाइ वातावरण सिर्जना गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

    कार्यक्रममा सहभागी अभिभावकहरूले यस्तो अभिमुखीकरण समयानुकूल, उपयोगी र प्रेरणादायी रहेको प्रतिक्रिया व्यक्त गर्दै विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ मजबुत बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।

    समापनका अवसरमा प्राचार्य भुसालले सहभागी सम्पूर्ण अभिभावकप्रति आभार व्यक्त गर्दै विद्यालय र अभिभावकबीचको विश्वास, सहकार्य र निरन्तर संवाद नै प्रत्येक विद्यार्थीको सफल भविष्य निर्माणको बलियो आधार भएको उल्लेख गरे। उनले आगामी दिनमा पनि यस्ता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिँदै विद्यालय–अभिभावक सम्बन्धलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे।



    lumbinisanjal   
  • २०८३ असार २८, आईतवार २२:४८
  • #Oxford

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP