• २०८३ असार ३२ | Thu, 16 Jul 2026
  • Dark Mode

          Subscribe

    पाल्पामा कांग्रेसको सदस्यता अभियान थप सक्रिय: ‘कांग्रेस २.०’ मार्फत युवा र समावेशी संगठन निर्माणमा जोड

    • lumbinisanjal
    • २०८३ असार १८, बिहीबार १८:१७
    377
    SHARES
    पाल्पामा कांग्रेसको सदस्यता अभियान थप सक्रिय: ‘कांग्रेस २.०’ मार्फत युवा र समावेशी संगठन निर्माणमा जोड

    पाल्पा ।  नेपाली कांग्रेसले पार्टीको सदस्यता अभियानलाई थप सक्रिय, व्यापक, युवा–मैत्री र समावेशी बनाउने उद्देश्यसहित पाल्पाका तानसेन नगरपालिका ,माथागढी गाउँपालिका , बगनासकाली गाउँपालिका , रम्भा गाउँपालिका तथा पूर्वखोला गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

    अभियानमार्फत संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्दै नयाँ पुस्तालाई पार्टीसँग जोड्ने रणनीतिमा विशेष जोड दिइएको छ।
    कार्यक्रमका प्रमुख अतिथि, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पाल्पाका केन्द्रीय प्रतिनिधि मुना भुसालले बलियो संगठन निर्माणको आधार सक्रिय सदस्यता भएको उल्लेख गर्दै सदस्यता अभियानलाई प्रत्येक टोल र समुदायसम्म विस्तार गर्नुपर्ने बताउनुभयो। उहाँले विशेषगरी ३५ वर्षमुनिका युवा तथा तरुण वर्गलाई लक्षित गर्दै क्रियाशील सदस्यता विस्तार गर्ने अभियानलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो।

    भुसालले विगतमा क्रियाशील सदस्यता नवीकरण गर्न छुटेका सदस्यहरूलाई तोकिएको समयभित्र सदस्यता नवीकरण गर्न आग्रह गर्दै सदस्यता व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो।

    उहाँले नेपाली कांग्रेसले अघि सारेको ‘नेपाली कांग्रेस २.०’ अवधारणा केवल सदस्य संख्या बढाउने अभियान नभई पार्टीको सोच, नेतृत्व शैली र संगठनलाई समयानुकूल रूपान्तरण गर्ने अभियान भएको स्पष्ट पार्नुभयो। नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिने, पारदर्शी सहभागिता बढाउने तथा निर्णय प्रक्रियामा सबै तहको प्रतिनिधित्व सुनिश्चित गर्ने नीति पार्टीले अवलम्बन गरेको उहाँको भनाइ थियो।

    युवालाई पार्टीसँग जोड्न डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल तथा आधुनिक प्रविधिको अधिकतम प्रयोग गरिने उल्लेख गर्दै भुसालले युवालाई पछाडि होइन, नेतृत्वको अग्रपङ्क्तिमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो। साथै, माथिबाट मात्रै निर्णय हुने परम्पराको अन्त्य गर्दै तल्लो तहबाट आउने सुझाव र आवाजलाई सम्मान गर्ने संस्कृतिको विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    महिला, दलित, जनजाति, अल्पसंख्यक तथा सबै समुदायको सम्मानजनक सहभागिता सुनिश्चित गर्दै संगठनलाई अझ समावेशी बनाइने उल्लेख गर्दै उहाँले लोकतान्त्रिक मूल्य, विचार र संगठन सुदृढीकरणका लागि सबै नेता–कार्यकर्ता एकताबद्ध भएर सदस्यता अभियानमा जुट्नुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रमका सभापति तथा नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले सदस्यता वितरण केवल संख्या बढाउने प्रक्रिया नभई सक्षम, जिम्मेवार र सक्रिय कार्यकर्ता उत्पादन गर्ने अभियान भएको बताउनुभयो। उहाँले पार्टीलाई गाउँ–गाउँसम्म मजबुत बनाउन भ्रातृ तथा शुभेच्छुक संस्थाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सबै तहका नेता–कार्यकर्तालाई एकताबद्ध भएर अभियान सफल बनाउन आग्रह गर्नुभयो।

    त्यसैगरी प्रतिनिधिसभा सदस्य सन्दीप रानाले बदलिँदो राजनीतिक परिवेशमा युवालाई कांग्रेससँग जोड्न आधुनिक र प्रभावकारी शैलीमा सदस्यता अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। जनताका अपेक्षा र समस्यालाई केन्द्रमा राखेर संगठन विस्तार गर्न सके कांग्रेसप्रतिको विश्वास अझ सुदृढ हुने उहाँको भनाइ थियो।

    अन्तरक्रिया कार्यक्रममा नेपाल मगर संघ, नेपाल तरुण दल, नेपाल दलित संघका प्रतिनिधि तथा नेपाली कांग्रेसका नेता–कार्यकर्ताले सदस्यता अभियानलाई अझ प्रभावकारी, समावेशी र परिणाममुखी बनाउने, नयाँ पुस्ताको आकर्षण बढाउने तथा सबै समुदायको अपनत्व सुनिश्चित गर्ने विषयमा आफ्ना सुझाव प्रस्तुत गरेका थिए।
    कार्यक्रमका सहभागीहरूले पाल्पा जिल्लाभर सदस्यता अभियानलाई थप व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउँदै नेपाली कांग्रेसको संगठनलाई अझ सुदृढ बनाउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।



    lumbinisanjal   
  • २०८३ असार १८, बिहीबार १८:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP