• २०८३ असार ३२ | Thu, 16 Jul 2026
  • Dark Mode

          Subscribe

    मदाने गाउँपालिका पूर्ण खोप, पूर्ण संस्थागत प्रसुती र पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चित घोषित

    • lumbinisanjal
    • २०८३ असार १६, मंगलवार १८:४४
    442
    SHARES
    मदाने गाउँपालिका पूर्ण खोप, पूर्ण संस्थागत प्रसुती र पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चित घोषित

    बासुदेव पोखरेल /  गुल्मी । गुल्मीको मदाने गाउँपालिका पूर्ण खोप सुनिश्चित, पूर्ण संस्थागत प्रसुती सुनिश्चित तथा पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चित गाउँपालिका घोषणा भएको छ। स्वास्थ्यका विभिन्न सूचकहरू पूरा गरेपछि गाउँपालिकालाई औपचारिक रूपमा घोषणा भएको छ ।

    घोषणा कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख तथा जिल्ला खोप, पोषण एवं प्रजनन स्वास्थ्य समन्वय समितिका संयोजक द्रोणबहादुर खत्रीले मदाने गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसुती सुनिश्चितताको आधिकारिक प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै खत्रीले स्वास्थ्य क्षेत्रमा मदाने गाउँपालिकाले जिल्लामै उदाहरणीय काम गरेको बताउनुभयो । उहाँले प्राप्त उपलब्धिलाई दिगो बनाउनुपर्नेमा जोड दिँदै नसर्ने रोग र मानसिक स्वास्थ्यका क्षेत्रमा पनि विशेष ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिका निरन्तर लागिरहेको बताउनुभयो।

    उपाध्यक्ष सरिता खड्काले यो उपलब्धि जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र नागरिकको सामूहिक प्रयासको परिणाम भएको बताउँदै आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तरलाई अझ प्रभावकारी बनाइने बताउनुभयो ।

    सोही अवसरमा स्वास्थ्य क्षेत्रमा लामो समयसम्म निःस्वार्थ सेवा प्रदान गरी अनिवार्य अवकाश प्राप्त गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानसहित बिदाइ गरिएको थियो ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भीमाअर्जुन भुसाल, स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत कमल गौतम, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारी तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन जनस्वास्थ्य अधिकृत अन्जना भट्टराईले गर्नुभएको थियो ।



    lumbinisanjal   
  • २०८३ असार १६, मंगलवार १८:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP