• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    वेस्टर्न मेगा कलेजमा पूर्व विद्यार्थी सम्मान तथा कल्याण परिषद् गठन

    • lumbinisanjal
    • २०८३ असार १३, शनिबार २१:५६
    455
    SHARES
    वेस्टर्न मेगा कलेजमा पूर्व विद्यार्थी सम्मान तथा कल्याण परिषद् गठन

    बुटवल ,१३ असार । कलेज स्थापना भएपश्चात् पहिलो पटक यस कलेजमा अध्ययन गरी हाल विभिन्न क्षेत्र तथा स्थानहरूमा कार्यरत एमविए तथा विएचएम कार्यक्रमका पूर्वविद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरिएको हो । साथै, सोही पूर्वविद्यार्थीहरूको सक्रिय सहभागितामा विद्यार्थी कल्याणकारी संगठनको गठन समेत गरिएको छ ।

    उक्त सम्मेलनमा सन् २०१३ देखि सन् २०२४ सम्मका विभिन्न ब्याचका पूर्वविद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो । भव्य रूपमा सञ्चालित सो सम्मेलनमा विभिन्न आकर्षक सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू समेत प्रस्तुत गरिएका थिए, जसले कार्यक्रमलाई थप रमाइलो, रोचक र स्मरणीय बनाएको थियो ।

    कार्यक्रममा स्वागत तथा धन्यवाद मन्तव्य व्यक्त गर्दै कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले पूर्वविद्यार्थीहरू नै कलेजका वास्तविक मार्गदर्शक, र सद्भावना दूत भएको उल्लेख गरे । उनले देश विदेशका विभिन्न प्रतिष्ठित क्षेत्रमा कलेजका विद्यार्थीहरूले हासिल गरेको सफलताप्रति गौरव व्यक्त गर्दै आगामी दिनमा पनि कलेज र पूर्वविद्यार्थीहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन यो नवगठित संघले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

    सम्मेलनमा उपस्थित पूर्वविद्यार्थीहरूले पनि आफ्नो मन्तव्य राखेका थिए । उनीहरूले आफूहरूलाई योग्य र व्यावसायिक बनाउन कलेजले पुर्याएको योगदानको उच्च कदर गरेका थिए भने कलेजसँगको यो अटुट सम्बन्धलाई संस्थागत रूपमा अगाडि बढाउन नवगठित संघमार्फत सधैं सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

    वेस्टर्न मेगा कलेज पूर्वविद्यार्थी कल्याणकारी संगठनको आर्थिक वर्ष २०८३/२०८५ (दुई वर्षे कार्यकाल) का लागि विष्णु न्यौपानेको अध्यक्षतामा संस्था गठन गरिएको छ । जसको उपाध्यक्षमा संज्ञात श्रेष्ठ, महासचिवमा श्रीष्टी शर्मा, कोषाध्यक्षमा फर्सुराम गैरे र सह–सचिवमा अमर खनाल रहेका छन् । यस्तै सदस्यमा नानीमैया सुनारी, विश्वास गौतम, कल्पना पाठक, मिलन राना,सुजन पाण्डे र सुमन गिरी रहेका छन् । साथै संरक्षकको रुपमा प्राचार्य अधिवक्ता किसु शर्मा र मेन्टर प्रकाश खाम्चा रहेका छन् ।

    कलेजका प्राचार्य लगायत अन्य शिक्षकहरूले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । । यस नवगठित संस्थाले कलेज, पूर्वविद्यार्थी तथा वर्तमान विद्यार्थीहरूबीच आपसी सम्बन्ध, सहकार्य र कल्याणकारी गतिविधिहरूलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।

    उक्त कार्यक्रम अतिरिक्त क्रियाकलाप संयोजक श्री प्रकाश खाम्चाको संयोजनमा सफलतापूर्वक सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन कलेजमा कार्यरत प्रशासनिक कर्मचारी एलिजा बज्राचार्य तथा प्रशंसा शाक्यद्वारा गरिएको थियो ।

    यस कलेजमा स्नातक तहमा ४ बर्षे BIT तथा BHM र स्नातोकोत्तर तहमा २ वर्षे MBA अध्यापन गराईने र वर्ष २०८३ को भर्ना समेत खुलेको कलेज प्रशाशनले जानकारी गराएको छ ।



    lumbinisanjal   
  • २०८३ असार १३, शनिबार २१:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP