• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    सियारीमा पोषणमैत्री स्थानीय शासनबारे पालिका स्तरीय अभिमुखीकरण सम्पन्न

    • lumbinisanjal
    • २०८३ असार १२, शुक्रबार १७:४६
    260
    SHARES
    सियारीमा पोषणमैत्री स्थानीय शासनबारे पालिका स्तरीय अभिमुखीकरण सम्पन्न

    सियारी ,१२ असार ।  सियारी गाउँपालिकामा पोषणमैत्री स्थानीय शासनसम्बन्धी पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पोषण सुधारलाई स्थानीय सरकारको प्राथमिकतासँग जोड्दै आयोजना गरिएको कार्यक्रममा कुपोषण न्यूनीकरण, स्वस्थ खानपानको प्रवर्द्धन तथा सुरक्षित खानेपानीको महत्वबारे विस्तृत जानकारी दिइएको हो।

    गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा थारु, विभिन्न वडाका वडाध्यक्ष, शाखा प्रमुख तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रममा सहजकर्ता मनोज पौडेलले पोषणमैत्री स्थानीय शासनको अवधारणा, कुपोषण के हो, कुपोषणको वर्तमान अवस्था, यसको न्यूनीकरणका उपाय तथा सन्तुलित र पौष्टिक आहारको महत्वबारे अभिमुखीकरण गरेका थिए।

    उनले बालबालिकालाई उमेरअनुसार आवश्यक पौष्टिक खानेकुरा खुवाउने तरिका, परिवारमा स्वस्थ खानपानको संस्कार विकास गर्ने उपाय, दूषित पानीका कारण उत्पन्न हुने विभिन्न स्वास्थ्य समस्या तथा सुरक्षित खानेपानी र सरसफाइको महत्वबारे समेत जानकारी गराएका थिए।

    अभिमुखीकरणका क्रममा विश्वव्यापी रूपमा बढ्दो मोटोपनको समस्याबारे पनि चर्चा गरिएको थियो। सन् १९७० यता विश्वभर मोटोपनको समस्या तीव्र रूपमा बढ्दै गएको तथ्य प्रस्तुत गर्दै प्राचीन जीवनशैली र औद्योगिक जीवनशैलीबीच आएको परिवर्तनले मानिसको स्वास्थ्यमा पारेको प्रभावबारे सहभागीहरूलाई जानकारी दिइएको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले कुपोषण न्यूनीकरणका लागि स्थानीय सरकार, जनप्रतिनिधि, कर्मचारी तथा समुदायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताए। उनले पोषणमैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयनबाट स्वस्थ, सक्षम र उत्पादनशील समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
    त्यसैगरी गाउँपालिका उपाध्यक्ष तारा थारुले पोषणसम्बन्धी सचेतना घर–घरमा पुर्‍याउन जनप्रतिनिधि र सरोकारवालाले सक्रिय भूमिका खेल्नुपर्ने बताउँदै विशेषगरी गर्भवती महिला, सुत्केरी आमा तथा बालबालिकाको पोषणमा विशेष ध्यान दिन आवश्यक रहेको उल्लेख गरिन्।

    कार्यक्रमका अध्यक्ष थानेश्वर घिमिरेले गाउँपालिकाले पोषण सुधार, सुरक्षित खानेपानी, सरसफाइ तथा जनस्वास्थ्यसँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै पोषणमैत्री स्थानीय शासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

    कार्यक्रमको सञ्चालन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तीले गरेका थिए। कार्यक्रमले पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै कुपोषण न्यूनीकरण र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो



    lumbinisanjal   
  • २०८३ असार १२, शुक्रबार १७:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP