• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    धुर्कोट पूर्ण खोप, पूर्ण पोषणमैत्री तथा किशोरकिशोरीमैत्री पालिका घोषणा

    • lumbinisanjal
    • २०८३ असार ११, बिहीबार २१:२९
    390
    SHARES
    धुर्कोट पूर्ण खोप, पूर्ण पोषणमैत्री तथा किशोरकिशोरीमैत्री पालिका घोषणा

    गुल्मी ,११ असार । गुल्मीको धुर्कोट गाउँपालिकालाई पूर्ण खोप, पूर्ण पोषणमैत्री, पूर्ण संस्थागत सुत्केरी तथा किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था भएको पालिकाको रूपमा सुनिश्चितता तथा निरन्तरताको घोषणा गरिएको छ।

    धुर्कोट गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक द्रोणबहादुर खत्रीले गाउँपालिकालाई सुनिश्चितता तथा निरन्तरताको घोषणा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक खत्रीले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण सूचकहरू पूरा गर्दै धुर्कोट गाउँपालिकाले जिल्लामै उदाहरणीय काम गरेको बताउनुभयो। उहाँले प्राप्त उपलब्धिलाई निरन्तरता दिन जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुभयो।

    गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले नागरिकको आधारभूत अधिकारका रूपमा रहेको स्वास्थ्य सेवामा गाउँपालिकाले विशेष प्राथमिकता दिएको बताउनुभयो। उहाँले स्वास्थ्य क्षेत्रका सूचकहरूमा प्राप्त सफलता सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा अझ गुणस्तरीय र पहुँचयुक्त स्वास्थ्य सेवा विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    उपाध्यक्ष सीता गिरीले स्वस्थ समाज निर्माणका लागि पोषण, खोप, सुरक्षित मातृत्व तथा किशोरकिशोरी स्वास्थ्यलाई प्राथमिकतामा राखेर गाउँपालिकाले निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले स्वास्थ्य सचेतना अभिवृद्धि र सेवाको प्रभावकारी कार्यान्वयनबाट प्राप्त उपलब्धिलाई थप सुदृढ बनाइने धारणा राख्नुभयो।

    धुर्कोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रका राष्ट्रिय मापदण्डअनुसार आवश्यक सूचकहरू पूरा गरेपछि उक्त सुनिश्चितता तथा निरन्तरता घोषणा गरिएको हो । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    कार्यक्रमको सञ्चालन धुर्कोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमलाल खनालले गर्नुभएको थियो।  



    lumbinisanjal   
  • २०८३ असार ११, बिहीबार २१:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP