• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रधानमन्त्री बालेनले एक हप्ताभित्र सदनमा सांसदका प्रश्नको जवाफ दिने

    • lumbinisanjal
    • २०८३ जेष्ठ १२, मंगलवार १७:४९
    546
    SHARES
    प्रधानमन्त्री बालेनले एक हप्ताभित्र सदनमा सांसदका प्रश्नको जवाफ दिने

    बुटवल ,१२ जेठ । प्रधानमन्त्री वालेन्द्र (बालेन)ले अन्ततः सदनमा सम्बोधन गर्ने भएका छन् । विपक्षी दलले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था अनुसार सदनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न माग गर्दै अवरोध गरिरहेका बेला सत्तापक्षले यस्तो जानकारी गराएको हो ।

    सत्ता पक्षका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले सम्भवतः एक हप्ताभित्र सदनमा उपस्थित भएर जवाफ दिने बताए । उनले सदनमा भइरहेको अवरोधका विषयमा आफूले मंगलबार पनि प्रधानमन्त्री बालेनको सचिवालय सदस्यहरूसँग कुरा गरेको बताए ।

    उनले संसद् वादविवाद नभएर छलफलबाटै समाधान निकाल्ने थलो भएकाले यसमा आफूहरू पनि गम्भीर रहेको बताए । ‘प्रधानमन्त्री सदनमा आउनुहुन्छ । सम्भवतः एक हप्ताभित्रै सदनमा आउने कुरा म सभामुखमार्फत् सदनलाई जानकारी गराउन चाहन्छु’ उनले भने ।

    यसअघि मंगलबार नै सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेन संसद्‌मा आएर सांसदका प्रश्नको जवाफ दिने तयारी गरेको बताएका थिए । संसद्‌मा विपक्षी दलले गरेको मागबारे बालेन जानकार रहेको उनले बताएका थिए ।​

    ​मंगलबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलले अवरोध गरेपछि सभामुख अर्यालले प्रधानमन्त्रीसँग आफ्नो नियमित संवाद भइरहेको र छिट्टै संसदमा आएर जवाफ दिने जानकारी गराएका हुन् ।

    ‘हामी केही दिनदेखि एउटै विषयमा प्रवेश गरिरहेका छौं, प्रधानमन्त्री सदनमा आएर सांसदको प्रश्नको जवाफ दिनुपर्‍यो । जुन विषय अत्यन्त जायज छ, जनताको माग पनि त्यही हो । यस विषयमा हामीले विपक्षी दलसँग पटकपटक संवाद गरेका छौं,’ सभामुख अर्यालले भने, ‘सत्तापक्षसँग पनि संवाद भएको छ ।

    सरकारसँग र स्वयं प्रधानमन्त्रीसँग मेरो संवाद भइरहेको छ । प्रधानमन्त्रीले संसदमा आउने तयारी गर्नुभएको छ । यो भन्दा अगाडि पनि भनेको थिए, सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ ।’



    lumbinisanjal   
  • २०८३ जेष्ठ १२, मंगलवार १७:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP