• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    धुर्कोटको ‘ग्रेट वाल’ ले आन्तरिक र बाह्य पर्यटनमा ठूलो टेवा पुग्ने : सभामुख तुलाराम घर्ती मगर

    • lumbinisanjal
    • २०८३ बैशाख १४, सोमबार २०:४६
    598
    SHARES
    धुर्कोटको ‘ग्रेट वाल’ ले आन्तरिक र बाह्य पर्यटनमा ठूलो टेवा पुग्ने : सभामुख तुलाराम घर्ती मगर

    बासुदेव पोख्रेल / गुल्मी ,१४ वैशाख । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर ‘वसन्त’ ले गुल्मीको धुर्कोटमा निर्माण गरिएको ‘ग्रेट वाल’ ले नेपालको पर्यटन क्षेत्रमा नयाँ क्रान्ति ल्याउने बताउनुभएको छ। विश्वप्रसिद्ध चिनियाँ ग्रेट वालको झल्को दिने गरी निर्माण गरिएको यस संरचनाको अवलोकन गर्दै उहाँले यो केवल एउटा पर्खाल मात्र नभई स्थानीय समृद्धिको बलियो आधार भएको उल्लेख गर्नुभयो।

    ​सभामुख घर्तीले धुर्कोटको यो पर्यटकीय पदमार्गले आन्तरिक र बाह्य दुवै पर्यटकलाई विशेष रूपमा आकर्षित गर्ने दाबी गर्नुभयो। उहाँले नेपाली पर्यटकहरूका लागि यो एउटा अनुपम गन्तव्य बनेको र विदेशी पर्यटकहरूका लागि नेपालमा देख्न पाइने एउटा अनौठो र आकर्षक इन्जिनियरिङको नमुना भएको बताउनुभयो । अब चिनियाँ ग्रेट वालको अनुभूति गर्न विदेश धाउनु पर्दैन भन्दै उहाँले त्यो आकर्षण हाम्रै धुर्कोटमा उपलब्ध भएकोमा खुसी व्यक्त गर्नुभयो।

    ​पर्यटकको आवागमनसँगै स्थानीय स्तरमा रोजगारी र आय-आर्जनका बाटाहरू खुल्नेमा जोड दिँदै सभामुखले यहाँ स्वदेशी र विदेशी पर्यटकको ओइरो लाग्दा स्थानीय होटल, होमस्टे र घरेलु उत्पादनको व्यापारले ठूलो गति लिने विश्वास दिलाउनुभयो। यसले स्थानीय बासिन्दाको आर्थिक स्तर उकास्न र विदेशी मुद्रा आर्जन गर्न समेत मद्दत पुर्‍याउने उहाँको तर्क थियो।

    ​स्थानीय सरकारको भिजन र मेहनतले तयार भएको यो ‘ग्रेट वाल’ ले गुल्मी मात्र नभई लुम्बिनी प्रदेशकै पर्यटनमा नयाँ इँटा थपेको छ। सभामुखले यसको संरक्षण र थप पूर्वाधार विकासका लागि प्रदेश सरकारको तर्फबाट पनि आवश्यक समन्वय र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। प्राकृतिक सुन्दरता र आधुनिक पर्यटकीय सोचको यो संगमले धुर्कोटलाई विश्वकै पर्यटकीय नक्सामा चिनाउने विश्वास गरिएको छ।



    lumbinisanjal   
  • २०८३ बैशाख १४, सोमबार २०:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP