• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    आइपिओ तयारीका साथ सिद्धार्थ केवलकारको केन्द्रीय कार्यालय उद्घाटन

    • lumbinisanjal
    • २०८२ असार २४, मंगलवार १५:००
    3.8K
    SHARES
    आइपिओ तयारीका साथ सिद्धार्थ केवलकारको केन्द्रीय कार्यालय उद्घाटन

    काठमाडौँ, २४ असार । सिद्धार्थ केवलकार लिमिटेडले राजधानी काठमाडौँको तीनकुनेमा आफ्नो केन्द्रीय कार्यालय स्थापना गरी औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

    केन्द्रीय कार्यालयको उद्घाटन सोमबार प्रभु ग्रुपका अध्यक्ष भोजकुमार खड्का र सिद्धार्थ केवलकार लिमिटेडका सञ्चालक इञ्जिनियर रमेशकुमार सापकोटाले संयुक्त रूपमा रिबन काटेर गरेका हुन्। वैदिक विधिअनुसार पूजा गरिएपछि कार्यालयको विधिवत् उद्घाटन गरिएको थियो।

    कम्पनीका प्रबन्ध सञ्चालक प्रभुलाल अधिकारीका अनुसार केन्द्रीय कार्यालय स्थापनाको मुख्य उद्देश्य कम्पनीको व्यापार प्रवर्द्धन, बजारीकरण र चाँडै आउन लागेको प्राथमिक सेयर (IPO) निष्कासनको सहजीकरण गर्नु हो। “हामी निकट भविष्यमा आइपिओ ल्याउँदैछौं। यसको तयारी स्वरूप काठमाडौँमा कार्यालय सञ्चालनमा ल्याइएको हो,” अधिकारीले बताए।

    रुपन्देहीस्थित सिद्धार्थ केवलकारमा हालसम्म २ लाख ७५ हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकले यात्रा गरिसकेको कम्पनीले जनाएको छ। गत भदौ १९ गतेदेखि सञ्चालनमा आएको यस केवलकार परियोजना प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडको लगानीमा सञ्चालित हो।

    सिद्धार्थ केवलकार नेपालको पहिलो बौद्ध धर्मावलम्बी लक्षित केवलकार परियोजना भएको कम्पनीको दाबी छ। परियोजनामार्फत लुम्बिनी क्षेत्रस्थित भगवान गौतम बुद्धका कुलगुरुको आश्रम र पाल्पा जिल्लाको नुवाकोटमा रहेको ऐतिहासिक भैरवकामना मन्दिरसम्म यात्रुहरू आवतजावत गर्न सक्छन् । हालको अवस्थामा यसले प्रति घण्टा ७०० यात्रु ओसार्न सक्ने क्षमता राख्दछ ।

    कम्पनीले निकट भविष्यमा नुवाकोट गढी पर्यटन कम्पनी, ऋषिकाल देवल पर्यटन कम्पनी, र हिलसाइड भिलेज रिसोर्ट लगायत तीन नयाँ कम्पनी सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ।

    यसबाहेक प्रभु केबलकारका थप दुई केवलकार परियोजना—रु ३५० करोड लागतको इच्छाकामना देवी केवलकार र रु ५०० करोड लागतको बाजुराको बढीमालिका केवलकार—निर्माणको विभिन्न चरणमा रहेको जानकारी पनि अधिकारीले दिएका छन्।



    lumbinisanjal   
  • २०८२ असार २४, मंगलवार १५:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP