• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनचाँदी व्यवसायीको आन्दोलन चुलियो, प्रमुख दलहरू पनि साथमा

    • lumbinisanjal
    • २०८२ असार १७, मंगलवार ००:२०
    2.4K
    SHARES
    सुनचाँदी व्यवसायीको आन्दोलन चुलियो, प्रमुख दलहरू पनि साथमा

    बुटवल,१७ असार । सुनमा लगाइएको २ प्रतिशत बिलासिता कर र हिरा जडित गहनामा लागू गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै सुनचाँदी व्यवसायीहरूले प्रमुख राजनीतिक दलहरूसंग छलफल गरेका छन्।

    रुपन्देहीमा आयोजित ‘राजनीतिक दलहरू तथा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम’मा व्यवसायीहरूले करलाई अन्यायपूर्ण भन्दै सशक्त विरोध जनाएका हुन्।

    रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोपाल रामदामको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष बुद्धि दियालीले सरकारले रैथाने तथा पुर्खौली पेशा गर्दै आइरहेको सुनचाँदी व्यवसायीहरूलाई आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य मार्फत घोषणा गरेको कर नीतिले व्यवसायीहरूलाई विस्थापित गराउन खोजेको बताए।

    सुनचाँदी पेशाको न्यायको निम्ति, श्रमको सम्मानको निम्ति, समस्त कालिगढ तथा कर्मचारीहरुको रोजीरोटीको निम्ति हामी सुनचाँदी व्यवसायीहरू अहिले आन्दोलनमा होमिनु बाहेकको विकल्प नरहेको समेत उनले बताए ।

    उनले भने, “सुनचाँदी जन्म, मृत्यु, संस्कार र परम्परासँग जोडिएको पुर्ख्यौली पेशा हो। यस्तो पेसालाई विलासिताको वस्तु भनिनु आपत्तिजनक छ। राज्यले प्रयोग गरेको ‘बिलासिता’ भन्ने शब्द नै हटाइनुपर्छ”।

    देशभर २३ हजार ६५० व्यवसायी सरकारी रूपमा दर्ता छन्, करिब ३ लाख व्यवसायी र १५ लाखभन्दा बढी परिवार यो व्यवसायमा निर्भर छन्। यस्तो पेसामाथि बोझ पार्ने निर्णय उपभोक्ता र व्यवसायी दुवैका लागि घातक भएको समेत बताए ।

    उनले मूल्यवृद्धि पेट्रोलियममा हुँदा राजनीतिक दलहरू आन्दोलनमा उत्रने गरेका उदाहरण दिँदै भने, “संस्कार, संस्कृति र जीविकोपार्जनसँग जोडिएको सवालमा सबै राजनीतिक दलले आवाज उठाउनु जरूरी छ। स्थानीयदेखि केन्द्रसम्म दबाब सिर्जना हुनुपर्छ।”

    कार्यक्रममा नेकपा एमाले जिल्ला सचिव चित्र बहादुर केसीले देशको अवस्थालाई मध्यनजर गर्दै सरकारले शान्तीपूर्ण ढंगले वार्ताको माध्यमबाट मागको सुनुवाइ गर्नुपर्ने बताए। साथै उनले यो करको विषयमा व्यवसायीको असहमतीलाई प्राथमिकताका साथ लिएर अर्थमन्त्री विष्णु पौडेललाई पुनरबिचारको लागी अनुरोध गर्ने बताए ।

    नेपाली कांग्रेस जिल्ला सदस्य गोविन्द खनालले व्यवसायीका मुद्दा संसद र सरकारसम्म पुर्‍याउन प्रतिबद्धता जनाए।उपभोक्ता समेत मारमा पर्ने यस्तो कर प्रणालीप्रति सबै सरोकारवाला संवेदनशील बन्नुपर्ने धारणा राखे ।

    त्यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसीले सुनचाँदी व्यवसायीको पीडा गम्भीर रहेकोले आफ्नो संसदमा समेत निरन्तर आवाज उठाइरहेका बताए।

    कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० अध्यक्ष महेन्द्र उपाध्याय,राप्रपा जिल्ला सहसचिव शंकर खत्री, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष टाँनबहादुर केसी, नेकपा समाजवादी जिल्ला उपाध्यक्ष अबिराम बिक, नेपाल समाजवादी पार्टि नयाँ शक्ति जिल्ला सचिवालय सदस्य विष्णु खत्री ,जनमत पार्टीका रुपचन्द यादव, र नेपाल किसान पार्टीका सुन्दर बासी, नेपाल कम्युनिष्ट पार्टिका जिल्ला सेक्रेटरी बिरेन्द्र श्री ,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, उपभोक्ता हित संरक्षण मञ्च अध्यक्ष समुन्द्र जिसी लगायतले बोल्दै सुनचाँदी व्यवसायीको यो आन्दोलनमा ऐक्यबद्धता जनाए ।

    कार्यक्रममा बुटवल सुनचाँदी व्यवसायी संघ अध्यक्ष एवम कार्यक्रम संयोजक गकुल विश्वकर्माको स्वागत, महासचिव दिपक कौशलको संचालन र केन्द्रिय सदस्य दिपक विश्वकर्माको धन्यवाद ज्ञापनमा सम्पन्न भएको हो ।

    कार्यक्रम रुपन्देही सुनचाँदी व्यवसायी संघ र बुटवल सुनचाँदी व्यवसायी संघको आयोजनामा सम्पन्न भएको हो भने शिद्धार्थनगर, तिलोत्तमा, देवदह, सुद्धोदन, सैनामैना, कञ्चन, लुम्बिनी सांस्कृतिक सुनचाँदी व्यवसायी संघ र तिलोत्तमा आभूषण व्यवसायी संघको सह-आयोजनामा सप्पन्न भएको हो ।

    सुनचाँदी व्यवसायीहरूले यसअघि पनि कर नीतिको विरोधमा आन्दोलन थालेका थिए। तर प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने आश्वासन दिएपछि केही समयका लागि आन्दोलन रोकिएको थियो। तर बजेट पारित हुँदा मागको सम्बोधन नभएको भन्दै व्यवसायीहरू व्यवसाय नै बन्द गरेर पुनः आन्दोलित बनेका हुन्।

    कार्यक्रमबाट एकजुट भएर उठाइएको आवाजले सरकारलाई नीति पुनरावलोकन गर्न दबाब दिने अपेक्षा गरिएको छ। सुनचाँदी व्यवसायीहरू मात्र होइन, उपभोक्तासमेत मारमा पर्ने यस्तो कर प्रणालीप्रति सबै सरोकारवाला संवेदनशील बन्नुपर्ने सहभागीहरूको साझा भनाइ थियो।

     



    lumbinisanjal   
  • २०८२ असार १७, मंगलवार ००:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP