• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    पोखरा बेलुन प्रकरण : हाइड्रोजन ग्यास भर्ने भारतीय पक्राउ

    • lumbinisanjal
    • २०८१ फाल्गुन ६, मंगलवार १८:३३
    1.7K
    SHARES
    पोखरा बेलुन प्रकरण : हाइड्रोजन ग्यास भर्ने भारतीय पक्राउ

    पोखरा, ६ फाल्गुन  । पोखरामा आयोजित भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा हाइड्रोजन ग्यास भरिएका बेलुन विस्फोट घटनामा एक भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको छ । वडा प्रहरी कार्यालय, बैदामले ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

    फागुन ३ गते भ्रमण वर्ष उद्घाटन समारोहका क्रममा हाइड्रोजन भरिएको बेलुनमा ब्यानर टाँसेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट निस्किएको झिल्काले लागेर विस्फोट भएको थियो । प्रहरीका अनुसार सोही दिन कमलेसलाई नियन्त्रणमा लिइएको हो ।

    बेलुन विस्फोटको घटनामा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए । अर्थमन्त्री पौडेलले उपचारपछि सोमबार कीर्तिपुर अस्पतालबाट डिस्चार्ज पाएका छन् भने मेयर आचार्यको अझै केही दिन अस्पतालमै उपचार जारी रहने चिकित्सकहरूले बताएका छन् ।

    यस घटनाको विस्तृत अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी वसन्त शर्माले जनाएका छन् । उनका अनुसार संलग्न ठानिएका केही व्यक्तिसँग प्रहरी बयान लिइरहेको छ ।

    पक्राउ परेका कमलेससँग हाइड्रोजन उत्पादन, भण्डारण र बलुन भर्ने प्रक्रियाबारे जानकारी संकलन भइरहेको छ, साथै कानुनी दायरामा ल्याउन आवश्यक कारबाही प्रक्रिया अघि बढाइँदैछ ।

    गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन् ।

    समितिलाई घटनाको विस्तृत अध्ययन गरी १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्ने निर्देशन दिइएको छ। साथै, आगामी दिनमा हाइड्रोजन ग्यासको नियमनका लागि आवश्यक उपायहरू समेत सिफारिस गर्न भनिएको छ ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ६, मंगलवार १८:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP