• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    जितेश्वरी दुर्गा मन्दिर परिसरमा भविष्य पुराण तथा धान्याञ्चल महायज्ञ

    • lumbinisanjal
    • २०८२ माघ २५, आईतवार १४:४९
    1.6K
    SHARES
    जितेश्वरी दुर्गा मन्दिर परिसरमा भविष्य पुराण तथा धान्याञ्चल महायज्ञ

    बुटवल, २५ माघ । बुटवलस्थित जितेश्वरी दुर्गा मन्दिर व्यवस्थापन संस्था परिसरमा भविष्य पुराण तथा धान्याञ्चल महायज्ञ–२०८२ विधिवत रूपमा सुरु भएको छ। उर्वरभूमि नेपाल र जय महाकाल युवा समूहको संयुक्त आयोजनामा आइतबारदेखि महायज्ञ प्रारम्भ भएको हो। महायज्ञ फागुन ४ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्।

    महायज्ञको सन्दर्भमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उर्वरभूमि नेपालका अध्यक्ष गंगालाल श्रेष्ठले स्वस्थानी व्रत समापनसँगै १०८ महापुराण संकल्पअनुसार पवित्र पशुपतिनाथबाट प्रारम्भ गरी देशका विभिन्न स्थानमा भविष्य पुराण तथा धान्याञ्चल महायज्ञ सञ्चालन गरिने बताए। उनले देशलाई सतिको श्रापबाट मुक्त गराउने उद्देश्यसहित सतिजागरण अभियानका रूपमा यो महायज्ञ अघि बढाइएको स्पष्ट पारे।

    महायज्ञमा कथावाचक मृदुभाषी युवा पं. अच्युत कृष्ण अधिकारीले प्रवचन दिने छन्। उनले ६ सय केजी तामाबाट निर्माण गरिएको सतिदेवी बोकेको महादेवको मूर्तिसहित देशव्यापी रूपमा अभियान सञ्चालन गरिएको जानकारी दिए।

    कार्यक्रममा जितेश्वरी दुर्गा मन्दिर व्यवस्थापन संस्थाका अध्यक्ष बालकृष्ण गैरे र सचिव ताराप्रसाद गौडेलले महायज्ञ जस्तो पवित्र कर्मका लागि मन्दिर परिसर उपलब्ध गराउन पाएकोमा खुशी व्यक्त गर्दै बचत रकम मन्दिरको पूर्वाधार विकासमा सहयोग गर्न आग्रह गरे।

    यस्तै, आयोजक संस्था जय महाकाल युवा समूह रुपन्देहीका जिल्ला अध्यक्ष देवेन्द्र बहादुर केसीले ‘भोकोलाई भोजन, प्यासालाई पानी’ भन्ने नारासहित संस्था सामाजिक सेवामा सक्रिय रहेको बताए। संस्थाले बुटवलमा एक दर्जनभन्दा बढी असहाय तथा गरिब वृद्धवृद्धाको व्यवस्थापन गर्दै आएको र आगामी दिनमा आश्रम तथा अक्षयकोष स्थापना गरी सामाजिक कार्यलाई थप विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए।

    पाठपारायण पण्डित नारायण अधिकारीका अनुसार महायज्ञको पहिलो दिन आइतबार विधिवत पूजा–अर्चना तथा झाँकी र्‍याली समेत सम्पन्न भएको छ। कार्यक्रममा जय महाकालका जिल्ला संयोजक प्रदीप पोखरेलले हिन्दु धर्म रक्षा र समाजसेवाको भावनाका साथ अभियान अघि बढाइएको बताए।



    lumbinisanjal   
  • २०८२ माघ २५, आईतवार १४:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP