• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रतिकूल मौसममा पनि बाआमासँग नगर प्रमुख स्वास्थ्य शिविरमा उत्साहजनक सहभागिता

    • lumbinisanjal
    • २०८२ पुष १३, आईतवार १७:३०
    1.8K
    SHARES
    प्रतिकूल मौसममा पनि बाआमासँग नगर प्रमुख स्वास्थ्य शिविरमा उत्साहजनक सहभागिता

    बुटवल, १३ पुस । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित बाआमासँग नगर प्रमुख निःशुल्क स्वास्थ्य जाँच तथा उपचार शिविर प्रतिकूल मौसमका बाबजुद पनि सेवाग्राहीको उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ।

    आइतबार बुटवल उपमहानगरपालिका वडा नं. ६ र ७ मा सञ्चालन गरिएको शिविरमा चिसो मौसमका बावजुद उल्लेखनीय संख्यामा जेष्ठ नागरिकहरूको उपस्थिति देखिएको हो।

    वडा नं. ६ चाँदबारीमा आयोजित शिविरको शुभारम्भ गर्दै नगर प्रमुख खेलराज पाण्डेयले जेष्ठ नागरिकहरू स्वास्थ्य सेवाका लागि अस्पताल धाउन नपरोस् भन्ने उद्देश्यले उपमहानगरपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको बताए। उनले कम्तीमा वर्षमा दुई पटक यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको जानकारी गराए।

    हाल बुटवलका विशिष्ट स्वास्थ्य संस्थामा कार्यरत विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरिएको उल्लेख गर्दै नगर प्रमुख पाण्डेयले आगामी दिनमा ल्याब सेवासहितको शिविर सञ्चालन गर्ने तयारी भइरहेको बताए।
    बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउने लक्ष्यसहित उपमहानगरपालिकाले विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाउँदै उनले जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूको घरदैलोमै पुगेर विशेषज्ञसहित स्वास्थ्य परीक्षण र उपचार गर्ने उद्देश्यले बाआमासँग नगर प्रमुख कार्यक्रम सुरु गरिएको बताए।

    पछिल्लो समय सर्ने रोगभन्दा नसर्ने रोगबाट नगरवासी बढी पीडित रहेको उल्लेख गर्दै नगर प्रमुख पाण्डेयले समाजमा लुकेर रहेका रोग र बिरामीको पहिचान तथा उपचारका लागि यस्ता शिविर प्रभावकारी हुने विश्वास व्यक्त गरे।

    जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयका अनुसार आइतबार वडा नं. ६ मा ९८ जना र वडा नं. ७ मा १०१ जना जेष्ठ नागरिकले स्वास्थ्य सेवा लिएका छन्। उनका अनुसार पुस ७ गते वडा नं. १ बाट सुरु भएको स्वास्थ्य शिविर नगरका १९ वटै वडामा सञ्चालन गरिनेछ। वडा नं. ६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले आफ्नै टोल–छिमेकमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा पाउँदा स्थानीय जनताले स्थानीय सरकारको प्रत्यक्ष अनुभूति गरेको बताए।



    lumbinisanjal   
  • २०८२ पुष १३, आईतवार १७:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP