• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा ३ अर्ब ५० करोड लगानीमा पाँचतारे ‘ह्यात प्लेस’ होटल सञ्चालन

    • lumbinisanjal
    • २०८२ कार्तिक २३, आईतवार २२:४९
    4.5K
    SHARES
    बुटवलमा ३ अर्ब ५० करोड लगानीमा पाँचतारे ‘ह्यात प्लेस’ होटल सञ्चालन

    बुटवल, २३ कार्तिक । लुम्बिनी प्रदेशको आर्थिक केन्द्र तथा औद्योगिक सहर बुटवलमा ३ अर्ब ५० करोड रुपैयाँ लगानीमा पाँचतारे होटल ‘ह्यात प्लेस’ सञ्चालनमा आएको छ। आन्तरिक तथा विदेशी पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्ने उद्देश्यले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अगाडि २५ कट्ठा क्षेत्रफलमा बनेको १० तले भवनमा यो होटल निर्माण गरिएको हो।

    १ सय ९ कोठा भएको यो होटल बुटवलको पहिलो पाँचतारे होटल तथा यस क्षेत्रकै सबैभन्दा ठूलो होटल हो। सुरुवातमा ‘होटल सेफ्रोन’ नाममा निर्माण थालिएको भए पनि सम्पन्न भएपछि यो अन्तर्राष्ट्रिय होटल चेन ‘ह्यात प्लेस’ ब्रान्डअन्तर्गत सञ्चालनमा आएको हो। ह्यात ब्रान्ड सन् २००६ मा सुरु भई अहिले विश्वभर ४२० भन्दा बढी स्थानमा सेवा विस्तार गरेको छ।

    यो होटलमा रुपन्देहीका अग्रणी औद्योगिक घराना यशोदा फुड्स ग्रुपले लगानी गरेको हो। सञ्चालकहरूमा चुन्नुप्रसाद पौडेल, कमलकिशोर मालपानी, नरिश्वर शर्मा पौडेल, भूमिराज पौडेल, श्रवण बेरिवाल र रेखा मालपानी गरी ६ जना रहेका छन्। कुल लगानीको ६५ प्रतिशत बैंक ऋण र ३५ प्रतिशत व्यक्तिगत लगानी रहेको सञ्चालक चुन्नुप्रसाद पौडेलले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

    होटलमा ६ वर्गका १०९ कोठा रहेका छन्, जसमा एकैपटक २५० पाहुना बस्न सक्छन्। होटलको डिजाइनमा शान्ति, आधुनिकता र परम्पराको संयोजन गरिएको छ। बोधीवृक्षको पातको आकृति, मायादेवी मन्दिरको इँटाको बनावट झल्किने रेस्टुरेन्ट डिजाइन, र बुद्ध दर्शनका चार आर्य सत्य झल्किने चार विशेष स्तम्भले होटललाई कलात्मक र भव्य बनाएको छ।

    सञ्चालक पौडेलका अनुसार, होटलका कोठामा पाहुनाका लागि काम, विश्राम र मनोरञ्जनका छुट्टाछुट्टै ठाउँको व्यवस्था गरिएको छ। “होटल बिजनेस फोकस्ड भए पनि यो फेमिली फ्रेन्डली हो, जसले नेपालको सार र पहिचानलाई समेटेको छ,” उनले भने।

    होटलमा जिङ बार, १ हजार १ सय वर्गमिटरको बलरुम, तीनवटा बहुउद्देश्यीय हल, फिटनेस सेन्टर, किड्स प्ले जोन, मिट्टी घर डिजाइनको स्पा, ज्याकुजी र विस्तृत पार्किङ सुविधा उपलब्ध छन्।

    भारतको उत्तर प्रदेशमा रहेको करिब २४ करोड जनसंख्यालाई लक्षित गर्दै भारतीय पर्यटक भित्र्याउने उद्देश्य होटलले राखेको छ। निकट भविष्यमा क्यासिनो सञ्चालन गर्ने तयारी पनि भइरहेको सञ्चालक पौडेलले बताए। “बुटवलमा क्यासिनो सहितको पहिलो पाँचतारे होटल ह्यात प्लेस नै हुनेछ,” उनले भने, “यसले विदेशी मुद्रा आर्जन र स्थानीय अर्थतन्त्र सुदृढ बनाउन मद्दत पुर्‍याउनेछ।”

    सञ्चालक कमलकिशोर मालपानीले सरकारले पर्यटनमैत्री नीति र कानुन निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए। उनले भने, “भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्छ र बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पनि सक्रिय हुनुपर्छ, यसले मात्र रुपन्देहीको पर्यटन व्यवसायमा उछाल ल्याउनेछ।”

    होटलले पूर्ण क्षमतामा सञ्चालन हुँदा ३५० जनालाई रोजगारी प्रदान गर्न सक्ने जनाएको छ, जसमा स्थानीय बासिन्दालाई प्राथमिकता दिइनेछ। साथै, होटल निर्माणकै क्रममा होटलको पश्चिमतर्फको कुसुम पथमा करिब ३ सय मिटर सडक पक्कीकरण र सौन्दर्यीकरण पनि आफ्नै लगानीमा गरिएको सञ्चालक भूमिराज पौडेलले जानकारी दिए। होटलको औपचारिक उद्घाटन मंसिर १० मा हुने भएको छ।

     



    lumbinisanjal   
  • २०८२ कार्तिक २३, आईतवार २२:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP