• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रधानमन्त्री ओलीको विशेष सम्बोधन चीन भ्रमणअघि संसद्मा लिपुलेकबारे प्रष्ट पार्ने घोषणा

    • lumbinisanjal
    • २०८२ भाद्र १३, शुक्रबार १०:४४
    2.4K
    SHARES
    प्रधानमन्त्री ओलीको विशेष सम्बोधन चीन भ्रमणअघि संसद्मा लिपुलेकबारे प्रष्ट पार्ने घोषणा

    काठमाडौं,१३ भदौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) बस्ने प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन्। सभामुख देवराज घिमिरेका अनुसार, प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे जानकारी दिन संसद्मा सम्बोधन गर्ने कार्यक्रम छ।

    ओली भोलि (शनिबार) चीन प्रस्थान गर्दैछन्। सरकारी उच्च स्रोतका अनुसार उनले चीन भ्रमणमा द्विपक्षीय सहयोग, व्यापार विस्तार, भौतिक पूर्वाधार तथा आपसी सम्बन्ध सुदृढीकरणमा प्राथमिकता दिनेछन्।

    तर यसपटकको भ्रमणलाई लिपुलेक प्रकरणले थप संवेदनशील बनाएको छ। भारत–चीनबीचको पछिल्लो समझदारीपछि नेपाली भूभाग लिपुलेक प्रयोग हुने विषयमा उठेका विवादप्रति प्रधानमन्त्री ओलीले संसद्मा स्पष्ट धारणा राख्ने तयारी गरेका छन्।

    ओलीले यसअघि नै सार्वजनिक रूपमा लिपुलेक मामिलामा नेपालले नझुक्ने बताएका थिए।

    उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटमा नेपालको सार्वभौम अधिकारप्रति प्रस्ट र दृढ कुरा राख्ने घोषणा गरिसकेका छन्। उनले भनेका थिए, “लिपुलेक नेपालको अविभाज्य हिस्सा हो। यसबारेमा कुनै सम्झौता वा सम्झौता–विरोधी गतिविधि स्वीकार्य हुने छैन। चीन भ्रमणमा म यो मुद्दा प्रष्टसँग राख्नेछु, संसद्को विश्वास लिएर।”

    राजनीतिक वृत्तमा प्रधानमन्त्री ओलीको आजको सम्बोधनलाई निकै महत्वका साथ हेरिएको छ। सत्तापक्षले राष्ट्रिय हितमा सरकार दृढतापूर्वक उभिएको सन्देश दिने प्रयास गर्नेछ भने विपक्षी दलहरूले सरकारको कूटनीतिक तयारीबारे प्रश्न उठाउने सम्भावना छ।

    प्रधानमन्त्रीको सम्बोधनपछि लिपुलेक प्रकरणमा नेपालले चीन र भारतसँग कसरी वार्ता अगाडि बढाउने भन्नेबारे स्पष्ट संकेत प्राप्त हुने अपेक्षा गरिएको छ।



    lumbinisanjal   
  • २०८२ भाद्र १३, शुक्रबार १०:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP