• २०८३ आश्विन ४ | Sun, 20 Sep 2026
  • Dark Mode

          Subscribe

    कृष्णभीरको नयाँ सडक तयार, भोलि बिहानदेखि नियमित सञ्चालन

    • lumbinisanjal
    • २०८३ भाद्र ३१, बुधबार २२:२८
    143
    SHARES
    कृष्णभीरको नयाँ सडक तयार, भोलि बिहानदेखि नियमित सञ्चालन

    धादिङ । भदौ १४ गतेदेखि अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडक १८ दिनपछि सञ्चालनमा आएको छ।

    त्रिशूली नदीको कटानका कारण सडकको ठूलो हिस्सा भासिएपछि पुरानै संरचनाबाट सडक सञ्चालन सम्भव नभएपछि माथिल्लो भागको भित्ता काटेर नयाँ ट्रयाक निर्माण गरिएको हो। लगातार १३ दिनसम्म काम गरेर निर्माण गरिएको नयाँ ट्रयाकमा ग्राबेलिङ तथा नाला निर्माणसमेत गरिएको छ।

    नागढुंगा–मुग्लिन सडक आयोजनाको नेतृत्वमा भदौ १८ गतेदेखि ३१ गते साँझसम्म दैनिक १८ घण्टासम्म विभिन्न उपकरण र प्राविधिक जनशक्ति परिचालन गरी सडक सञ्चालनमा ल्याइएको हो। लामो समयदेखि अवरुद्ध सडक खुलेपछि राजधानी काठमाडौं र देशका विभिन्न जिल्लाबीचको यातायात सहज भएको छ।
    पहिरो प्रभावित क्षेत्रमा निरन्तर डोजर तथा प्राविधिक जनशक्ति परिचालन गरी सवारी आवागमनलाई सुरक्षित र सहज बनाउने तयारी गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले बताउनुभयो।

    नागढुंगा–मुग्लिन सडक आयोजनाका प्रभुराज पाण्डेका अनुसार सडक रहेको पुरै भाग पहिरिएपछि पुरानो संरचनाको विकल्पमा माथिल्लो भाग काटेर सडक चौडा बनाउँदै नयाँ ट्रयाक निर्माण गरिएको हो।

    तर, नयाँ ट्रयाक निर्माणका क्रममा कृष्णभीरको भित्ता अर्को चुनौती बनेको छ। भित्ता काट्दै जाने क्रममा पहराका ठाउँ–ठाउँबाट पानी रसाइरहेको छ। भित्ताको जुनसुकै भाग छोए पनि पानी निस्कने अवस्थाले निर्माण व्यवसायी र प्राविधिकहरूलाई थप चुनौती थपिएको छ।

    कृष्णभीर देशकै चर्चित पहिरो क्षेत्रमध्ये एक हो। करिब २६ वर्षअघि समेत ठूलो पहिरोका कारण चर्चामा आएको कृष्णभीरलाई लामो समयको मेहनत, उच्च प्राविधिक सीप, अनुभव र निरन्तर प्रयासपछि नियन्त्रणमा ल्याइएको थियो। अहिले पुनः सडक भासिएपछि नयाँ ट्रयाक निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको हो।



    lumbinisanjal   
  • २०८३ भाद्र ३१, बुधबार २२:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP