• २०८३ असार २१ | Sun, 05 Jul 2026
  • Dark Mode

          Subscribe

    चार प्रदेशमा भारी वर्षाको सम्भावना, नौ जिल्लामा बाढीको जोखिम

    • lumbinisanjal
    • २०८३ असार २१, आईतवार ०९:४९
    182
    SHARES
    चार प्रदेशमा भारी वर्षाको सम्भावना, नौ जिल्लामा बाढीको जोखिम

    बुटवल । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (आइतबार बिहान) लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश, कोसी प्रदेशका पहाडी र तराई भूभाग, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भेगमा साधारणतया बादल लागेको छ। कोसी प्रदेशको हिमाली भूभाग, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका तराईमा आंशिक बादल लागेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, कोसी प्रदेशका थोरै स्थान साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ।‌

    मौसमविद्का अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी क्षेत्रतर्फ सरदर स्थानभन्दा दक्षिण र पश्चिमीतर्फ सरदर स्थानको आसपास छ।

    मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको मौसम प्रक्षेपण यस्तो छ:

    दिउँसो : देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा पनि साधारणतया बादल लाग्नेछ। कोसी, मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका पनि केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेस प्रदेश साथै कोसी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका साथै कोसी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेस प्रदेश साथै कोसी प्रदेशको तराई भूभागका केही स्थानमा हुरीको समेत सम्भावना छ।

    राति : कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने मधेस प्रदेश साथै बागमती, गण्डकी प्रदेशका तराई भेगमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी प्रदेश साथै सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा स्थान, कर्णाली प्रदेशका पहाडी भूभाग, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका साथै कोसी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    काठमाडौँमा पनि मध्यम वर्षाको सम्भावना

    आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

    मौसम महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार काठमाडौँ उपत्यकामा अहिले बिहान घाम लागे पनि अपराह्नपछि बादल बढ्दै जाने र वर्षा हुने सम्भावना छ।

    ‘अपराह्न, साँझ र राति वर्षाको सम्भावना बढी छ’, उनले आज बिहान सवा ८ बजे नेपालखबरसँग भने, ‘दिउँसो २/३ बजेपछि वर्षा सुरु हुने अनुमान छ। मध्यमसम्म वर्षा हुने सम्भावना छ।’

     

    हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

    मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

    यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

    एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

    मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

    अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

    यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

    अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

    मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

     

    यी जिल्लामा बाढीको जोखिम

    वर्षासँगै देशभर बाढी-पहिरोको जोखिम पनि बढेको छ।

    बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ललितपुरसहित देशका ९ जिल्ला र आसपास बाढी आउने सम्भावना छ।

    बाढी महाशाखाले भनेको छ, ‘आज ललितपुर, मकवानपुर, सल्यान, रुकुम-पश्चिम, जाजरकोट, दैलेख, डोटी, डडेल्धुरा, बैतडी र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’



    lumbinisanjal   
  • २०८३ असार २१, आईतवार ०९:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP