• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    इस्माको घुम्ती शिविरबाट १४ सयभन्दा बढी लाभान्वित

    • lumbinisanjal
    • २०८३ जेष्ठ २०, बुधबार १५:५५
    156
    SHARES
    इस्माको घुम्ती शिविरबाट १४ सयभन्दा बढी लाभान्वित

    गुल्मी, २० जेठ । गुल्मीको इस्मा गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट १४ सय भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन्। गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रमअनुसार नागरिकको घरदैलोमै सेवा पुर्‍याउने उद्देश्यले छवटै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको थियो।

    शिविरमार्फत सबैभन्दा बढी पशुपन्छी औषधि तथा उपचार सेवा प्रदान गरिएको छ। उक्त सेवाबाट ६८४ जना लाभान्वित भएका छन्। साथै कुकुर, बिरालो र राँगासहित ३१५ वटा पशुमा रेबिजविरुद्धको खोप लगाइएको छ।

    शिविरमा ३५५ जनाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्राप्त गरेको इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पराजुलीले जानकारी दिनुभयो।

    विकास निर्माणतर्फ ५० वटा योजनाको सम्झौता गरिएको छ भने योजना फरफारकका लागि दुई वटा टिप्पणी तयार गरिएको छ। व्यवसायसम्बन्धी सेवाअन्तर्गत एउटा नयाँ व्यवसाय दर्ता, छ वटा व्यवसाय नवीकरण तथा एउटा व्यवसाय खारेज गरिएको प्रमुख प्रशासकीय अधिकृत पराजुलीले बताउनुभयो।

    सामाजिक सुरक्षातर्फ तीन जना नयाँ लाभग्राहीको नाम सङ्कलन गरिएको छ। एक जनाको सामाजिक सुरक्षा भत्ता नवीकरण छुट दर्ता गरिएको छ। त्यसैगरी तीन जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण तथा दुई जनालाई अपाङ्गता परिचयपत्रको प्रतिलिपि जारी गरिएको गाउँपालिकाले जनाएको छ।

    गाउँपालिकाले घुम्ती शिविरमार्फत नागरिकलाई आफ्नै टोल–बस्तीमा पुगेर सेवा प्रदान गर्दा समय, खर्च र झन्झट कम भएको जनाएको छ। स्थानीयवासीले पनि घर–आँगनमै विभिन्न सरकारी सेवा प्राप्त गर्न पाउँदा सहज र प्रभावकारी भएको बताएका छन्। गाउँपालिकाले आगामी दिनमा पनि यस्ता नागरिकमैत्री कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ २०, बुधबार १५:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP