• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    मिथिला संस्कृतिको मुटुमा खुल्यो चारतारे सुविधासहितको होटल पौवा

    • lumbinisanjal
    • २०८३ जेष्ठ १८, सोमबार १८:०५
    364
    SHARES
    मिथिला संस्कृतिको मुटुमा खुल्यो चारतारे सुविधासहितको होटल पौवा

    जनकपुरधाम,१८ जेठ । नेपाली आतिथ्य सेवा क्षेत्रमा स्थापित राष्ट्रिय ब्रान्ड होटेल पौवाले आफ्नो १९औँ शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ। “जहाँबाट आतिथ्यको सुरुवात हुन्छ” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै होटेलले मिथिला सभ्यता, संस्कृति तथा धार्मिक आस्थाको केन्द्र जनकपुरधाममा सेवा विस्तार गरेको हो।

    होटेलको औपचारिक उद्घाटन आगामी जेठ २२ गते हुने तय भएको छ। उद्घाटनको अवसरमा तीनदिने ‘बृहत् खाना प्रवर्द्धन कार्यक्रम’ आयोजना गरिनेछ। कार्यक्रममा होटेल पौवाका विभिन्न शाखामा कार्यरत अनुभवी सेफहरूले तयार गरेका नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरूको विशेष प्रदर्शनी रहनेछ।

    होटेल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारी ले जनकपुरधाममा चारतारेस्तरको होटेल सञ्चालनमा आउनु कम्पनीको विस्तार यात्राको महत्वपूर्ण उपलब्धि भएको बताए। उनले होटेलको उपस्थितिले धार्मिक तथा आन्तरिक पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा आतिथ्य उद्योगको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

    नयाँ शाखामा ६२ वटा सुविधासम्पन्न अतिथि कक्ष रहेका छन्। साथै स्विमिङ पुल, सेमिनार हल, रेस्टुरेन्ट, जिम, साउना, स्टिम तथा स्पालगायत चारतारेस्तरका सेवा–सुविधा सञ्चालनमा आइसकेका छन्। नेपाली स्वाद, संस्कार र अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवालाई एकैसाथ अनुभव गराउने उद्देश्यसहित होटेलले २४सै घण्टा सेवा उपलब्ध गराउने जनाएको छ।

    उद्घाटन समारोह तथा खाना प्रवर्द्धन कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाका उद्योगी, व्यवसायी, पर्यटनकर्मी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

    रुपन्देहीको बुटवलबाट सुरु भएको होटेल पौवाको यात्रा आज जनकपुरधामसम्म विस्तार भएको छ। हाल यसको शाखा भैरहवा, बुटवल, गोरुसिङ्गे, भालुवाङ, लमही, घोराही, जुम्ला, तानसेन, धनगढी, पोखरा, काठमाडौं, भरतपुर, मुग्लिन र कालिञ्चोकलगायत स्थानमा सञ्चालनमा छन्।

    साथै नेपालगञ्जमा पाँचतारे होटेल तथा चौकीडाँडामा ‘पौवा वनवास’ नामक लक्जरी रिसोर्ट निर्माणाधीन अवस्थामा रहेको कम्पनीले जनाएको छ। सामूहिक लगानीको अवधारणामा सञ्चालन भइरहेको होटेल पौवाले देशभर प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्दै आएको छ।

    कर्मचारीलाई समेत लगानीकर्ता बन्ने अवसर प्रदान गर्दै कम्पनीले ‘साझा स्वामित्व, साझा सफलता’को अवधारणालाई अगाडि बढाएको जनाएको छ।
    कम्पनीका अनुसार जनकपुरधाम, लुम्बिनी, मुक्तिनाथ तथा पशुपतिनाथ लगायतका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई जोड्दै होटेल पौवा नेपाली तथा भारतीय पर्यटकका लागि विश्वसनीय आतिथ्य साझेदारका रूपमा स्थापित हुँदै गएको छ। आगामी दशकमा ‘मिसन १००’ अन्तर्गत देश तथा विदेशमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्यसहित कम्पनी अगाडि बढिरहेको छ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ १८, सोमबार १८:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP