• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    गुल्मीका दुई निर्माण कम्पनीद्वारा श्रमिकमाथि ठगीः सात वर्षदेखिको पारिश्रमिक नपाएपछि प्रशासनमा उजुरी

    • lumbinisanjal
    • २०८३ बैशाख १६, बुधबार १६:१८
    676
    SHARES
    गुल्मीका दुई निर्माण कम्पनीद्वारा श्रमिकमाथि ठगीः सात वर्षदेखिको पारिश्रमिक नपाएपछि प्रशासनमा उजुरी

    बुटवल,१६ वैशाख । गुल्मीका दुई निर्माण कम्पनीले काम गरेबापतको भुक्तानी लामो समयसम्म श्रमिकलाई नगरेको पाइएको छ । जिल्लामा सञ्चालित सुनिल समिर निर्माण सेवा प्रा.लि. र वान डाइरेक्सन कन्ट्रक्सन प्रा.लि. ले वर्षौंदेखि श्रमिकहरूको पारिश्रमिक रोकेर राखेको तथ्य सार्वजनिक भएको हो ।

    निर्माण कम्पनीका व्यवस्थापक नारायण पोख्रेल र डाईरेक्टर सुनिल पोख्रेलले मौखिक सहमतिमा सवारी चालक र भान्सेका रूपमा काम लगाएका सातजना श्रमिकहरूलाई २०७५ सालदेखिकै पारिश्रमिक दिन बाँकी छ । बारम्बार आग्रह गर्दा पनि पारिश्रमिक नदिएपछि पीडित श्रमिकहरूले न्यायको माग गर्दै हेलो सरकार र जिल्ला प्रशासन कार्यालय, गुल्मीमा क्षतिपूर्तिसहितको निवेदन दर्ता गराएका छन ।

    पीडित श्रमिकहरूका अनुसार, आफ्नो पसिनाको मूल्य माग्न खोज्दा कम्पनीका सञ्चालकहरूले बेवास्ता गर्ने र उल्टै तँैले के गर्न सक्छस गर भन्दै अराजक गतिविधि र डर/धम्की देखाउने गरेका छन । रेसुङ्गा नगरपालिकाको भगवती मन्दिरस्थित मदन आश्रित र जीवराज आश्रित भवन (नेकपा एमाले पार्टी कार्यालय) मा रहेको कम्पनीको कार्यालयबाट आफूहरू अन्यायमा परेको र यसले श्रमजीवीहरूको मनोवल गिराएको उनीहरूको गुनासो छ ।

    श्रमिक बसन्त पराजुलीले आफुहरुले लामो समय देखि पारिश्रमिक माग गर्दा पनि नपाएपछि प्रशासनमा निवेदन दिएपनि त्यसको कुनै सुनवाई नभएको बताए । सो निर्माण कम्पनीबाट बढीगाँड गाउँपालिका २ बाग्लुङका यम रानाले ३ लाख ११ हजार रुपैयाँ पारिश्रमिक पाउन बाँकी छ । उनले ०७७ असोज २० गते देखि ०८० मंसिर ३० गते सम्म काम गरेका थिए ।

    त्यस्तै गुल्मीको मालिका गाउँपालिका वडा नंं ६ का बसन्त पराजुलीले पनि ७ लाख ६३ हजार ६८४ रुपैयाँ पाउन बाँकी छ । धुर्कोट गाउँपालिका वडा नं. ४ का अर्जुन कुँवरको १ लाख ६७ हजार, दरबार गाउँपालिका वडा नं. ७ का शेर बहादुर कार्कीको २ लाख ८० हजार, रेसुंगा नगरपालिका वडा नं ५ का झम बहादुर पाण्डेको निमार्ण कम्पनीबाट २ लाख लिन बाँकी छ । यसैगरी भान्सेको रुपमा काम गरेका मालारानी गाउँपालिका वडा नं. ३ अर्घाखाँचीका कृष्ण भुसालको १ लाख ५५ हजार र सोही स्थानकै भिमलाल खनालको ३ लाख ६० हजार रुपैयाँ निर्माण कम्पनीले दिन बाँकी छ ।

    रेसुंगा नगरपालिका वडा नं. ५ का झमन बहादुर पाण्डेले आफुहरुलाई बर्षौदेखि पारिश्रमिक नदिएको बताए । ‘दिन्छु भन्दा भन्दै आज ६ बर्ष भईसक्यो । दिइएको छैन् । हामी पिडित भयौ’ उनले भने ।

    निवेदनमा श्रमिकहरूले आफूहरू जस्ता धेरै श्रमजीवीहरू ती कम्पनीबाट पीडित रहेको उल्लेख समेत गरेका छन । लामो समयसम्म पारिश्रमिक नपाउँदा जीविकोपार्जनमा निकै कठिन भएको भन्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय गुल्मीलाई आवश्यक पहल गरिदिन र क्षतिपूर्तिसहितको न्याय दिलाइदिन अपील गरेका छन ।

    यति धेरै प्रमाण र उजुरी पर्दा समेत निर्माण कम्पनीले भने हालसम्म पारिश्रमिक दिन आलटाल गरिरहेको छ । कम्पनीका डाईरेक्टर सुनिल पोख्रेलले श्रमिकहरुको पारिश्रमिक दिन बाँकी रहेको स्वीकार गरे । उनले आउनुपर्ने ठाउँबाट समयमै भुक्तानी नभएकाले श्रमिकहरुको पैसा लामो समय सम्म रोकिएको बताए ।
    ‘अब कहिबाट पैसा आउन साथ भुक्तानी दिन्छौ । हामी पनि चल्न सकेका छैनौ’ उनले भने ।



    lumbinisanjal   
  • २०८३ बैशाख १६, बुधबार १६:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP