• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    कांग्रेसको कार्यविधि : कार्यक्रमको मञ्चमा दुई जनामात्रै, प्रमुख अतिथि समयमा नआए नकुर्ने, ब्याच-माला-खादा पनि निषेध

    • lumbinisanjal
    • २०८३ बैशाख ७, सोमबार १८:१८
    871
    SHARES
    कांग्रेसको कार्यविधि : कार्यक्रमको मञ्चमा दुई जनामात्रै, प्रमुख अतिथि समयमा नआए नकुर्ने, ब्याच-माला-खादा पनि निषेध

    काठमाडौं, ७ बैशाख । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टीका सार्वजनिक कार्यक्रमलाई अनुशासित र व्यवस्थित बनाउन नयाँ कार्यविधि लागू गर्ने तयारी गरेको छ।

    पार्टीले तयार पारेको कार्यविधि आगामी जेठ १ गतेदेखि लागू गर्ने तयारी केन्द्रीय कार्यसमितिले गरेको छ ।

    पार्टीले जिल्ला र प्रदेश तहबाट सुझाव लिएर कार्यविधिलाई अन्तिम रूप दिने भएको छ। कार्यविधिअनुसार अबदेखि पार्टीका सबै तहले आयोजना गर्ने कार्यक्रम निर्धारित समयमै सुरु र अन्त्य गर्नुपर्नेछ।

    प्रमुख अतिथि समयमा उपस्थित नभए पनि तालिकाअनुसार कार्यक्रम सुरू गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ।

    अबदेखि कार्यक्रमअघि नै वक्ताको समय निर्धारण गरिने भएको छ। त्यही समयसीमाभित्र रहेर नेताहरूले बोल्नुपर्नेछ। यससँगै कार्यक्रमको मञ्चमा सभापति र एक जना वक्तामात्रै बस्ने व्यवस्था प्रस्ताव पनि कार्यविधिमा गरिएको छ।

    कार्यविधिमा कार्यक्रम सुरू भएको १५ मिनेटपछि बीचमा आशन ग्रहण कार्यक्रम नराख्ने, मञ्चमा भीडभाड गर्न नपाउने तथा कार्यक्रमस्थल अपाङ्गता भएका व्यक्तिलाई पहुँचयोग्य बनाउने व्यवस्था गरिएको छ।

    अबदेखि कार्यक्रममा वक्ताले लामो समय उपस्थित व्यक्तिहरूलाई सम्बोधन नगरी एकमुष्ट सम्बोधन गर्नुपर्ने भएको छ । बोल्दा पनि विषय केन्द्रित भएर बोल्नुपर्ने नियम अगाडि सारिएको छ।

    त्यस्तै, कुनै पनि कार्यक्रममा घृणा, द्वेष, हिंसात्मक, जातीय, क्षेत्रीय, धार्मिक, लैंगिक तथा सामाजिक विभेदजन्य शब्द प्रयोग गर्न नपाइने व्यवस्था कार्यविधिमा गरिएको छ।

    कांग्रेसले कार्यक्रमलाई सरल र औपचारिक बनाउन माला, खादा, ब्याचलगायत सामग्री प्रयोगमा बन्देज लगाउने प्रस्ताव पनि गरेको छ ।



    lumbinisanjal   
  • २०८३ बैशाख ७, सोमबार १८:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP